अचम्म! लाग्छ कुरा सुन्दा पनि, सरकारले हिजो फेरी ६१ वटा नगरपालिका घोषणा गरेछ। अब नेपालमा नगरपालिकाहरुको संख्या १९१ पुगेको छ। पहिले पहिले नगरपालिका “नगरबासी ” भन्ने बित्तिकै क्या सान हुन्थियो अब त यौटै जिल्लामा पनि ५-७ वटा नगरपालिका हुने भए। काठमाडौंमा त  नगरपालिका पनि ११ वटा हुने भए।  नगरपालिका हुँदै मा देश बिकास होला भनेर चाँही नसोचे हुन्छ। काठमाडौं महानगरपालिकाले एउटा फोहोर त समयमै उठाउन सक्दैन, दमकल मा पनि हुँदैन, बाटा-घाटा बनाउन सार्क नै आउन पर्ने हुन्छ। बिदेशमा जस्तो नगरपालिकाहरुको काम नेपालमा पनि हुने भएको भए त स्थिती अझै नाजुक छ। सडकका बत्ती, बाटो, पार्क, गाडीपार्किङ, यातायात सेवा, पुस्तकालय, नियमित फोहोर ब्यबस्थापना आदी त सपनामा मात्रै सम्भव हुन्छन।   धेरै बर्ष पहिले एकजना बनेपाका साथीले तिमी त “काम नपा” बस्ने रैछौ नि भन्थे अनी मैले पनि आ तिमी पनि पनि त “ब नेपा” बस्छौ भन्दै रमाइलो गर्थ्यौ त्यस्तै नै छ अहिले पनि स्थिती। अब यस्तो अवस्थामा बाँकी १९० वटा नगरपालिकाको हालत के हुने होला बुझी नसक्नु छ।

Uncollected Waste

देश संघीय प्रणालीमा जादै छ भन्ने हल्ला त सुनेको थिए, त्यस्तो हो भने नगरपालिका थप्नुको अर्थ मैले बुझ्न सकिन। झुक्किएर देश संघीय प्रणालीमा रुपान्तरण भए पछी, प्रत्येक राज्यले नगरपालिका वा अन्य उस्तै खलको निकय गथन गर्ने होलान। अनी अहिले थपेका नगरपालिकाको भबिस्य के हुने होला। हुन त नगरपालिका घोषणा भए पनि काम सुरु नै गर्छन् भन्ने त नहोला केही समय।

पूर्वाधारको विकास होस् नहोस् स्रोतसाधन होस् नहोस् नगरपालिकाहरु थपिएका थपियै छन। सरकारले भने अनुसार कुल जनसंख्याको ३६.८ प्रतिशत नगरबासी भएका छन। मेरो कपिलवस्तु मोतिपुरमा भएको घर पनि अब नगरपालिका भित्र पर्ने भएछ। नगरपालिकाको नाम पनि बाणगंगा नगरपालिका। कुल ७५,३०० जनसंख्या, १७ वडा भएको नगरपालिकाको क्षेत्रफल भने जम्मा २३३३.६ बर्ग किलो मिटर रहने छ। पहिले भएका ७ वटा गाबिसहरु मोतिपुर, बाणगंगा, भलवाड, कोपवा, गजेहडा, हथौसा र पटना अब नगरपालिकामा पारीणत भएका छन।

अहिले थपिएका नगरपालिकाहरु मध्य सबैभन्दा कम जनसंख्या इलामको देउमाई रहेको छ जहाँ १० हजार ९ सय ६४ जनसंख्या छ भने सबै भन्दा बडी बूढानीलकण्ठ नगरपालिकामा छ जहाँ जनसंख्या १ लाख ७ हजार ९ सय १८ रहेको छ। यसैगरी १३,०००- १४,००० जनसंख्या भएका क्षेत्र हरु पनि नगरपालिका भएका छन।

नगरपालिका घोषणा गर्दा गाबिसहरुलाई हटाएर उक्त क्षेत्रलाई समग्रमा नगरपालिका भनिने गर्छ। यस्तै बारम्बार नगरपालिका बन्दै गर्दा अब देशभर जम्मा ३ हजार २ सय ७६ वटा गाबिसहरु बाँकी छन। त्यसै त गाबिस सचीबहरु गाउ नगएर सदर्मुकाम बसेर जिबिस र प्रशासनलाई गाबिस सचीबहरु तह लाउन गार्हो भएको बेला धमाधम गाबिस बन्द हुँदा सजिलो नै हुने देखियो।  अझै कती वटा नगरपालिका थपिने हुन! यस्तै गाबिस नै नहुने जिल्ला काठमाडौं र भक्तपुर हुने भए।

कुरा अब उपमहानगरपालिकाहरुको, सरकारले अझै ७ वटा उपमहानगरपालिकाहरु थप्ने तयारी पनि गर्दै छ, हाल देश भर जम्मा ४ वटा उपमहानगरपालिकाहरु छन अब भने ११ वटा हुने वला छन, नयाँ थपिने ७ वटा उपमहानगरपालिकाहरु इटहरी, नेपालगञ्ज, हेटौंडा, धरान, भरतपुर, बुटवल र जनकपुर हुनेछन।

नगरपालिकाहरुको विवरण :
१- महानगरपालिका
११- अपमहानगरपालिका
१७९- नगरपालिका

पछील्लो समय थप भएका नगरपालिकाहरु 

इलाम:- देउमाई नगरपालिका

काठमाडौं:– गोकर्णेश्वर, दिक्षणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रगिरी, बागेश्वरीमनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ नगरपालिका

कञ्चनपुर: चाँदनी दोधारा, घोडाघोडी र झलारी पिपलाडी नगरपालिका

काभ्रे:- काशीखण्ड नगरपालिका

कपिलवस्तु:- बाणगंगा र बुद्दबाटीका नगरपालिका

कैलाली: भजनी त्रिशक्ति नगरपालिका

गोरखा:- पालुङटार नगरपालिका

चितवन:- माडी र नारायणी नगरपालिका

झापा:- शिव सताक्षी नगरपालिका

डडेलधुरा:- परशुराम नगरपालिका

दोलखा:- जिरी नगरपालिका

दाङ:- लमही र त्रिपुर नगरपालिका

धनकुटा:- पाखि्रबास नगरपालिका

धनुषा:-  गणेशमान चारनाथ, मिथिला र सबैला नगरपालिका

पर्सा:- पोखरीया नगरपालिका

बर्दिया:- सानोश्री, राराताल र बाँसगढी नगरपालिका

बैतडी:- पाटन नगरपालिका

बाजुरा:- बडिमालिका नगरपालिका

बारा:- महागढीमाई, सिम्रौनगढ र  कोल्हवी नगरपालिका

भक्तपुर:–  अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण, महामञ्जुश्री नगरकोट नगरपालिका

भोजपुर:- षडानन्द नगरपालिका

महोत्तरी:- बर्दिवास नगरपालिका

मोरङ:- लेटाङ भोगटेनी नगरपालिका

रामेछाप:- मन्थली र रामेछाप नगरपालिका

रौतहट:- गरुडा नगरपालिका

रुकुम:- मुसिकोट नगरपालिका

लम्जुङ:- सुन्दरबजार नगरपालिका

सिन्धुली:- दुधौली नगरपालिका

संखुवासभा:- मादी नगरपालिका

सिन्धुपाल्चोक:- मेलाम्ची नगरपालिका

सुर्खेत:- भेरी गंगा नगरपालिका

सप्तरी:- सप्तकोसी नगरपालिका

सिरहा:- गोलबजार नगरपालिका

सोलुखुम्बु: दूधकुण्ड नगरपालिका

सुनसरी:- रामधुनी भाषी नगरपालिका

लौ अब आज बाट जो-जो “नगरबाशी” हुनु भयो सबैलाई बधाई छ। बिकास होला भन्ने आश चाँही नगर्नु होला तर पनि कगजमै भएनी “शहरीया” हुनुहुने भयो।