नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ओलीले १००२ मत पाएका छन् भने नेपालले ९६३ मत पाएका छन् ।

उपाध्यक्षमा बामदेव गौतम, भिम रावल, विद्या भण्डारी, अष्टलक्ष्मि शाक्य र युवराज ज्ञवाली विजयी भएका छन्। सचिवमा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् । ओली पक्षका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले यसपटक दोस्रो प्रयासमा जितेका हुन् ।

KP Sharma Oli

माधवकुमार नेपालले ओलीलाई दिएको बधाई तथा शुभकामना

मितिः ३१ असार, २०७१

हार्दिक बधाई तथा शुभकामना !

नेकपा (एमाले)को नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । जनताको बहुदलिय जनवादको भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।


नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा (एमाले)थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।
महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के.पी. शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।


माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा (एमाले)